बुबाको लठ्ठी (कविता)

Manoj Sapkota
By -
0

आकाश मडारिँदै थियो,
यात्रा सुरुहुने बेला,
पानीको थोपा परिरहेको थियो,
आमाले कचौरामा दही लिएर आगनमा  निस्किने बेला।

घरवरीको खोला बढेर नदि बनेको थियो,
म सजिलै पसेर निस्किएँ, बुबालाई यहींबाट फर्किनुस भने।
खोला तरेको शाहस बोकि यात्रामा लिन हुँदै गएँ,
जति अगाडी बढ्दै गएँ, पानी झर्किँदै गयो।

म सँग बुबाले टेक्ने लठ्ठी थियो,
नदी बढेर गण्डकी भएको थियो, काढेँ जुत्ता अनि पसेँ गण्डकीमा।
खै पानी रोकिएको छैन, म त भित्रै छु,
बाढी भित्रै।
कान बालुवाले भरिएको छ, धमिलो पानीले आँखा पिरो पार्दैछ,
बगेका मुढाहरुले ढाड अनि पाखुरा थिल्थिलिँदै छन्।

बेग अझै घटेको छैन,
बरु उँधो घचेट्दै छ,
किनारातिर सोझिँदै छु, लठ्ठीकै भरमा।
हैरान लाग्छ, बाढी सँगै बगुँ ?
अनि झल्यास्स हुन्छु, लठ्ठी त म सँगै छ, यो फिर्ता गर्नु छ,
भारी अड्याउने लठ्ठी, बुबाको बुढेसकालको सहारा।

Post a Comment

0Comments

Post a Comment (0)